मामाघरमा सहयोग, समाजमा सन्देश –

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–१३ कालिमाटी धावनमार्ग निवासी समाजसेवी श्री ढुण्डि प्रसाद भट्ट चन्दन र उहाँकी धर्मपत्नी लालकुमारी भट्टचन्दनले देखाउनुभएको पछिल्लो सामाजिक उदाहरण प्रशंसनीय मात्र होइन, अनुकरणीय पनि छ।
हजुरआमा तथा नातिनातिना विक्रम, आर्या र देवांश भट्टचन्दनको जन्मदिनको अवसरलाई उहाँहरूले व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्नुभएको छ। मामाघर आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकाका लागि नगद रु २०,००० सहयोग प्रदान गर्नु केवल आर्थिक सहयोग होइन, संवेदनशील समाज निर्माणतर्फको सशक्त सन्देश हो।
आजभोलि जन्मदिनहरू तडकभडक र औपचारिक शुभकामनामा सीमित भइरहेका बेला यस्ता कार्यले फरक सोच प्रस्तुत गर्छ। खुसी बाँड्दा त्यसको मूल्य बढ्छ भन्ने मान्यतालाई व्यवहारमा उतार्दै उहाँहरूले समाजलाई सेवा र परोपकारतर्फ प्रेरित गर्नुभएको छ।
समाजमा सकारात्मक परिवर्तन सरकारी नीतिबाट मात्र सम्भव हुँदैन; व्यक्तिगत तहबाट सुरु हुने साना तर अर्थपूर्ण कदमहरूले पनि ठूलो प्रभाव पार्न सक्छन्। भट्टचन्दन परिवारको यो योगदानले जन्मदिनजस्ता अवसरलाई सामाजिक सद्भाव र मानवीय सहकार्यको माध्यम बनाउन सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ।
यस्तो महान कार्य गर्नुभएकोमा श्री ढुण्डि प्रसाद भट्टचन्दन लगायत वहाँको सम्पूर्ण परिवार प्रति हार्दिक आभार व्यक्त गर्दै जन्मदिनको अवसरमा सम्पूर्णमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।


मामाघर आश्रम परिवार,
गोदावरी- १४,बाँडेगाउँ, ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *